सरकारले देखिने र सुनिने गरी उपलब्धिमुलक काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह
रौतहट । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या समाधानका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रुतगतिमा काम गर्ने बताएका छन् । रौतहटको चन्द्रपुर–१ बागमतीमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भूमिहीनका समस्या देशैभरि रहेकाले तिनको समाधानका लागि आयोगले परिणाम देखिने गरी काम गर्ने बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले मधेश प्रदेशकै पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको यहाँको नुनथर क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने र त्यसका लागि आवश्यक योजना बनाउन स्थानीय नेताहरुलाई आग्रह गरे । ‘सरकार देखिने र सुनिने गरी उपलब्धिमूलक काममा अग्रसर भइरहेको छ । जनताको हित हुने योजनाहरू बनाउनुस् । त्यसमा हाम्रो सहयोग रहन्छ । नुनथरको विकासका लागि पनि के गर्नुपर्छ योजनासहित आउनुस्, छलफल गरेर निष्कर्षमा पुगौँला’, उनले भने । कार्यक्रममा चन्द्रपुर–१ का वडाअध्यक्ष बलराम राउतले आफ्नो वडाको समस्याबारे मन्त्री सिंहलाई जानकारी गराएका थिए । रासस