पक्राउपछि अस्पताल बस्दै आएका पूर्व मेयर कारागार चलान
झापा । बलात्कार अभियोगमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरेको हो ।
सोमबार न्यायाधीश नविनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको श्रेस्तेदार किरणुकमार सिंहले जानकारी दिए । उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम पुर्पक्षका लागि थुना पठाइएको हो । यस्तै, शिवाकोटीको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै अदालतले कारागारलाई उपचारको व्यवस्था गर्न पनि आदेश दिएको छ । शिवकोटी यतिञ्जलेल अस्पतालमै बसिरहेका थिए ।
मंसिर २४ मा शिवाकोटी पक्राउ परेका थिए । एक १७ वर्षीया घरेलु कामदार बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका थिए । कलेज पोसाकमै पीडित बालिका काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकी जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकी सोधपुछ गरेका थिए । त्यतिबेला उनीहरूले घटनाबारे थाहा पाएपछि प्रहरीको सहयोगमा उनलाई उद्धार गरेका थिए ।
उद्धारपछि बालिकाले आफूमाथि पूर्वमेयर शिवाकोटीले पटक–पटक जबरजस्ती करणी गरेको बताएकी थिइन् ।भारतमा आमा बस्ने गरेको र उनको बुबा नभएको हुँदा बालिकालाई शिवाकोटीले पढाइ दिने शर्तमा घरेलु कामदारका रूपमा सानैमा राखेका थिए । तत्कालीन अनारमनी गाविसको अध्यक्ष भइसकेका एमाले नेता शिवाकोटी २०७४ मा बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।