रवि दाइले मैले भनेको सुनेको भए स्थिति फरक हुन्थ्यो : मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले आफूले भनेको सुनेको भए आज स्थिति फरक हुने दाबी गरेका छन् ।
आज (सोमबार) आफ्नो आधिकारिक फेसबुक ह्यान्डलमा उनले लेखेका छन्, ‘कास, रवि दाइले मैले सावधान गराएको कुरा बुझेको भए, स्थिति फरक हुन्थ्यो ।’ उनले भनेका छन्, ‘मैले भनेको थिएँ–जीबी राईसँगको तपाईंको मौखिक समझदारी के छ, त्यसले फरक पार्दैन, कानुनमा कागजले बोल्छ । यहाँ कागजले समस्या पारेको छ । तर, रवि दाइलाई यी खेलाडीहरूले यति बुरूक्क उफारिसकेका रहेछन् कि मैले भुइँबाट चिच्याएको सुन्नु नै भएन ।’
उनले लामिछानेलाई हिरासतमा आफूले भेट्न खोजेको तर, नदिइएको गुनासो गरेका छन् । ‘हिरासतमा परेपछि पनि मैले रवि दाइलाई भेट्न खोजें । कानुनी पाटोमा सहयोग गर्न पनि खोजें । तर, रवि दाइलाई घेरा हालिसकेका रहेछन् । भेट्न पनि दिएनन्,’ उनले लेखेका छन् । केहि दिनअघि मुकुल ढकालले आफूलाई रास्वपाको पहिलाकै हैसियतमा फर्काउनु पर्ने माग गर्दै पत्र पठाएका थिए । तर हिजो मात्र सकिएको रास्वपाको वैठकमा मुकुलको मागबारे कुनै छलफल नै गरिएन ।