शेरा दरबारकाे जग्गासँग माओवादीलाई जोडेर झुटा प्रचार गरियो : प्रचण्ड


२०८१ पौष १५ सोमबार १४:४२ बजे
फाइल फोटो

झापा । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटको शेरा दरबार प्रकरणमा आफ्नो पार्टीलाई अनावश्यक जोडेर झुटो प्रचार गरेको दाबी गरेका छन् । प्रचण्डको सचिवालयमा रहेका विकेश श्रेष्ठले उक्त दरबारको जग्गा आफ्नो नाममा लिएको भन्दै त्यसमा माओवादीकै संलग्नता भएको दाबीसहितको समाचार कतिपय संचार माध्यमले सार्वजनिक गरेका थिए ।

प्रचण्डले सोमबार झापामा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्ने क्रममा त्यसबारे टिप्पणी गरेका हुन् । ‘अनौंठो खालको प्रचार हिजो–अस्तीबाट तपाईंले सुन्नु भएको पनि होला,’ उनले भने, ‘हाम्रो पार्टीबाट झण्डै १२– १५ वर्ष अगाडि पार्टी छोडिसकेको मान्छेको जग्गाको बिषयलाई लिएर माओवादीसँग बसेको मान्छेको जग्गा रहेछ यो भनेर सेरा दरबारको कुरा ल्याइएको छ ।’

प्रचण्डले सरकारको जग्गा भए त्यसलाई तुरुन्त सरकारका नाममा ल्याउन आग्रह गर्दै अन्यथा झुटो प्रचार नगर्न समेत चेतावनी दिए । ‘म चुनौतीका साथ भन्न चाहन्छु ओली सरकारलाई–शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारका नाममा ल्याउ’, उनले भने, ‘मेरो पुरै साथ हुनेछ तिमीहरुलाई । तर, झुटो प्रचार गरेर राजनीतिमा बेइमानीको प्रदर्शन नगर पनि भन्न चाहन्छु ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारमा नाम जोडिएका आफ्नै पार्टीका नेताहरुविरुद्ध समेत अनुसन्धान गराएको दाबी गरे । पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ ।

सीआईबीले चार महिना लामो अनुसन्धानपछि नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । अध्यक्ष ‘प्रचण्ड’ ले वर्तमान सरकार देश र लोकतन्त्रका विरुद्धमा काम गरिरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको गौरगञ्जमा आयोजित माओवादी केन्द्रको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले साँच्चै नै भ्रष्ट र दलालका पक्षमा काम गर्दैछ। संविधान, देश र लोकतन्त्रका विरुद्धमा काम गर्दैछ ।’ अहिलेको सरकार अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक रहेको समेत जिकिर गरे । आफूहरुसँग प्रयाप्त तागत नभएकाले जनताको आशा हुँदाहुँदै पनि सरकार छोड्नु परेको भन्दै उनले २०८४ को चुनावमा आफूहरुलाई पहिलो पार्टी बनाउन समेत आग्रह गरे । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७