बालुवाटारमा मन्त्रिपरिषद बैठक
काठमाडौं । अहिले मन्त्रिपरिषद बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जनाएको छ । बैठकका एजेण्डाहरू खुलाइएको छैन ।
साँझ पाँच बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताले संशय व्यक्त गरेका छन् ।
सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन बैठकले पनि उक्त सम्झौतालाई खुलेर स्वागत गर्न सकेन । कांग्रेसभित्रैबाट प्रश्न उठाइएपछि परराष्ट्र मन्त्रालयले मंगलबार बेइजिङमा हस्ताक्षर गरिएको बीआरआईसम्बन्धी सम्झौतापत्र नै सार्वजनिक गरिदिएको छ ।