विप्लवको प्रश्न : जनयुद्ध नभए के हो त ? 


२०८१ पौष ११ बिहीबार ०९:३५ बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको बताएका छन् । माओ दिवसका अवसरमा आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा विप्लवले जनयुद्धका कारण मुलुकमा परिवर्तन सम्भव भए पनि अहिले संसद, अदालत सबैतिरबाट जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको बताए ।

नेपालमा महिलालगायत पछि परेका समुदायलाई जनयुद्धकै कारण बोल्ने ठाउँमा पुर्‍याएको भन्दै बिप्लवले जनयुद्धलाई कसैले अपमानित गर्न नपाइने जिकिर गरे । उनले जनयुद्ध थिएन भने के थियो त ? भन्दै प्रश्न समेत गरेका छन् । महासचिव विप्लवले जनयुद्ध शब्दप्रति न्यायालयले गरेको टिप्पणीमा आपत्ति जनाएका छन् ।

सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको थियो ।त्यसप्रति आपत्ति जनाउँदै विप्लवले प्रश्न गरेका छन्, ‘सत्ताको मालिक पुग्ने ठाउँमा कसले पुर्‍यायो ? महिलालाई बन्दुक कसले बोकायो ? कमाण्डर कसले बनायो ? नेतृ कसले बनायो ? कसरी लेख्न सकेको ? न्यायालयले के लेख्न खोजेको हो?’

उनले माओवादीका धारहरूबीच एकता गर्न आफू तयार रहेको बताए । आफूहरूले ८ महिनाअघि एकताको प्रस्ताव पठाए पनि माओवादी केन्द्रले गम्भीर भएर छलफल नगरेको उनले बताए। उनले तत्काल एकता हुन नसके कम्युनिष्ट, माओवादी र समाजवादीबीचको मोर्चा आवश्यक रहेको धारणा राखे ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले समाजवादी क्रान्तिको दिशा तय गर्दै माओवादीभित्र पुनःगठनको आवश्यकता रहेको बताए । पार्टीभित्र बैचारिक बहस भन्दा गठबन्धनको बहसले प्राथमिकता पाउन थालेकाले बैचारिक बहसका माध्यमबाट पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । वैचारिक बहसमा स्पष्ट हुँदै कम्युनिस्ट आन्दोलनको तेस्रो पुनःगठन गर्नुपर्ने शर्माको भनाइ छ । उनले माओले चिनिया क्रान्तिबाट दिएको शिक्षाबाट सिकेर नेपालको समाजवादी क्रान्तिलाई अघि बढाउन कम्युनिष्ट घटकहरू संकल्पित हुनुपर्नेमा जोड दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७