अदालतमा रविको बयान : सहकारीको एक रुपैयाँ पनि खाएको छैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको एक रुपैयाँ पनि नखाएको बयान दिएका छन् । जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको र सहकारीको एक रुपैयाँ पनि नखाएको भन्दै इन्कारी बयान दिएका हुन् ।
लामिछानेले प्रहरीलाई दिएको बयानमा भनेका कुराहरु नै दोहोर्याएका छन् । उनले सहकारीमा आफ्नो संलग्नता नरहेको र त्यसको जिम्मेवारी जीबी राई नै रहेको बताएका छन् । उनले आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको बताएका छन् । गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको बताएका छन् । उनको बयान आज सकिएको छैन । बयान शुक्रबार पनि निरन्तर रहने बताइएको छ ।
यसअघि सहकारी प्रकरणमा मुछिएकी लिला पछाईंको बयान लिइएको थियो । सोमबार र मंगलबार पूर्व डीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो । रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन कसुरमा मुद्दा दायर भएको छ । लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।