मान्छे खुवाएर बाघ पाल्न सकिँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयले कोप–२९ को समीक्षाका लागि आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जति भन्यो त्यति बाघ बढाउने भन्ने हुँदैन, हाम्रो वनको क्षमताअनुसार जानुपर्छ । मान्छे खुवाएर बाघ पाल्न सकिँदैन, त्यो गल्ती गर्नु हुँदैन ।’
उनले सन् २००९ मा नेपालमा करिब ११० वटा बाघ रहेकोमा १० वर्षमा अढाइ सय बाघ पुगेको पनि उनले सुनाए । ‘अहिले साढे तीन सय बढी बाघ छन्, जंगलमा मात्रै होइन गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हिँड्नु पर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नु पर्छ । डेढ सय बाघ भए पुग्छ ।’ उनले केही बाघ उपहार दिन सकिने पनि बताएका छन् ।