‘टीआरसी’ का बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत


२०८१ असार १३ बिहीबार २०:१५ बजे

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसीमा सहमति खोज्न बिहीबार अपरान्ह बैठक बोलाएका थिए ।

बैठकमा सहभागी एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार टीआरसीलाई चाँडै टुंगोमा पुर्‍याउन ठूला तीन दलबीच सहमति भएको छ । ‘विशेष गरी टीआरसीलाई टुंगोमा पुर्‍याउने विषयमै छलफल केन्द्रित थियो,’ बर्तौलाले सुनाए, ‘संसदको कानून तथा न्याय समितिमा विचाराधीन रहेको विधेयकलाई पुनः छलफलमा ल्याउने र सहमति गर्ने भनिएको छ । यसका लागि तीन दल क्रमशः कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक–एक जना सदस्यलाई जिम्मेवारी दिइने भएको छ ।’

तीन जना सदस्य को–को रहने भन्ने विषय एक–दुई दिनभित्रै तोकिने बर्तौलाले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै सत्तापक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

यसअघि कांग्रेससहितको गठबन्धनकै बेला प्रधानमन्त्री प्रचण्डले टीआरसीलाई टुंगोमा पुर्‍याउन खोजेका थिए । तर, बीचमै गठबन्धन फेरियो । गठबन्धन फेरिए लगत्तै टीआरसी विधेयकबारेको छलफलले तीव्रता पाएको थिएन । अहिले सत्तापक्षका प्रमुख नेता एवं एमाले अध्यक्ष ओलीले टीआरसी टुंग्याउनु पर्नेमा सकारात्मक रहेको बुझिन्छ । त्यसो त गठबन्धन बनेपछि ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’मा टीआरसीसम्बन्धी कानून तत्काल बनाउने र टुंगोमा पुर्‍याइने उल्लेख गरिएको थियो ।

छलफलमा कांग्रेसका तर्फबाट नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र राधेश्याम अधिकारी सहभागी थिए । त्यस्तै एमालेका तर्फबाट सहभागी अन्य नेतामा प्रदीप ज्ञवाली, प्रमुख सचेतक महेश बर्तौला, अग्नि खरेल र माओवादीबाट जनार्दन शर्मालगायतका नेता सहभागी थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७