सहायक प्रजिअसहित गृहका १२ उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयले मातहत विभिन्न निकायमा कार्यरत १२ उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधबार उनीहरुको सरुव र पदस्थापन गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, गृह मन्त्रालयका उपसचिव चिरञ्जीवी भण्डारीलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।
केन्द्रीय कारागार कार्यालय, जगन्नाथ देवल, काठमाडौँका कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालयमा ल्याएर गृह मन्त्रालयका उपसचिव अञ्जन न्यौपानेलाई जगन्नाथ देवल पठाइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयका उपसचिव गीता घिमिरेलाई जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेलाई कारागार कार्यालय झुम्का, सुनसरीमा पठाइएको छ । कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई जिल्ला प्रशासन कार्यालय धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयका उपसचिव खगेन्द्र सुवेदीलाई जिल्ला प्रशासन कार्यालय धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।उपसचिव चूडामणि शर्मा गौतमलाई जिल्ला प्रशासन कार्यालय चितवनको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।