भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल


२०८१ मङ्सिर ७ शुक्रबार १६:१८ बजे

महोत्तरी । आम सेवाग्राहीले उपचारमा समुचित सेवा र वास्ता पाएपछि बर्दिबास अस्पतालसँगको भरोसा बढ्दैछ । अस्पतालले सेवा विस्तार गर्दै उपचारमा गरिबको पहुँच बढाउँदै लगेपछि अहिले अस्पतालबारे सकारात्मक धारणा बन्दै गएको हो ।

‘अब चाहिँ उपचारै नपाएर मरिन्न होला’, महोत्तरीको बर्दिबास–२ की सङ्गीता मुखिया भन्छिन्, ‘अस्पतालमा बिरामीले राम्रो वास्ता पाउँछन्, बर्दिबास अस्पतालको उपचार सेवाबारे विश्वास र भरोसा बढेको छ ।’ विसं २०६४ मा स्थापित यो अस्पतालले क्रमशः सेवा विस्तार गर्दै गएपछि सेवा लिने निकै बढेका छन् । एकताका नजिकमै अस्पताल भए पनि उपचार पाउने-नपाउने संशयले बाहिर उपचार गर्न जाने सर्वसाधारण अब यहीँ उपचार लिन थालेका छन् । 

आर्थिक वर्ष २०८०/८१ मा अस्पतालले २७ हजार ७१ जनालाई उपचार सेवा दिएको अस्पताल सेवा मेडिकल सुपरिटेण्डेण्ट डा. सुदीप ठाकुरले बताए । जसमा एक हजार पाँच सय ४९ सुत्केरी सेवा लिएका छन् । जसमध्ये चार सय ९६ जनाले शल्यक्रियाका माध्यमबाट  सुत्केरी सेवा लिएका डा. ठाकुरले स्पष्ट पारे । उपचार सेवा लिने सेवाग्राहीमध्ये २३ हजार दुई सय ९८ जनाले ओपिडी सेवा लिएका छन् । खासमा सुत्केरी सेवाको कुशल व्यवस्थापनले अस्पतालको सेवाबारे राम्रो सन्देश प्रवाह भएको बर्दिबासका बारनचौडीका विदुर काफ्ले बताउँछन् ।

अस्पतालले आर्थिक वर्ष २०८१/८२ का बितेका चार महिना (साउनदेखि कात्तिकसम्म) ११ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । अस्पतालको प्रसूति सेवाले टाढाटाढा सेवा लिन जानुपर्ने वाध्यता हटेको ग्रामीण महिलाको प्रतिक्रिया छ । पछिल्ला चार महिनामै सुत्केरी सेवा लिने चार सय माथि पुगेका छन्। शल्यक्रियाबाट सुत्केरी सेवा लिनेकै संख्या यो चार महिनाको अवधिमा एक सय ८५ छ । प्रसूति सेवाको व्यवस्थाले जनकपुरसम्म जानुपर्ने अवस्था अब हटेको बर्दिबास–२ का गायत्री उपाध्याय बताउँछन् ।

सुरुमा १५ शैंयाको यो अस्पतालले सेवा विस्तार गर्दै अहिले ५० शय्याबाट सेवा दिँदैछ । अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, ओपिडी, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ओसिएमसी, एसएनसियुसहितका सेवा सञ्चालनमा छन् । यसैगरी ओपिडी सेवामा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी (शल्यक्रिया), इण्टरनल मेडिसिन र एमडीजिपी उपचार दिइरहेको डा. ठाकुरको भनाइ छ ।

अस्पतालले सामाजिक सुरक्षा सेवा स्थापना गरी यसअन्तर्गत विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका र दुर्घटनामा परेका व्यक्तिलाई बर्दिबास नगरपालिकाको सिफारिसमा निःशुल्क र विशेष छुटमा उपचार सेवा दिने गरेको छ । सेवा विस्तार गरिँदै लगिएपछि अस्पतालमा बर्दिबास नगरक्षेत्रबाहेक जिल्लाकै औरही र भङ्गाहा नगरपालिका छिमेकी जिल्ला धनुषाको मिथिला तथा सर्लाहीको ईश्वरपुरसम्मका बिरामी उपचार लिन आउने गरेका अस्पतालले जनाएको छ ।

यसबाहेक सिन्धुलीको दुधौली नगरक्षेत्रका बिरामी पनि यहाँ उपचार लिन आउने गरेका छन् । बर्दिबास नगरपालिकाकै जनसंख्या २०७८ को राष्ट्रिय जनगणनाअनुसार ७४ हजार ती सय ६१ जना छ । यो र छिमेकका अन्य स्थानीय तहका गर्दा करिब दुई लाख जनाले यो अस्पतालको सेवा सम्पर्कमा रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउँछन् ।

अस्पतालमा हाल पाँच विशेषज्ञसहित १५ जना चिकित्सक, विभिन्न शाखामा कार्यरत स्वास्थ्यकर्मी ७५ जना र अन्य प्रशासनिक सेवासहित एक सय १० जना कार्यरत रहेका अध्यक्ष शर्माको भनाइ छ । बर्दिबास नगरपालिकाले नगरसभाबाटै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको हुँदा अस्पतालको सेवालाई अझ विस्तार गरिँदै गुणस्तरीय भरपर्दो बनाइँदै लगिने नगर प्रमुख प्रल्हदकुमार क्षेत्री बताउँछन् । उपचार प्रबन्धले यो अस्पतालले मधेसभरिकै नगर अस्पतालमा उत्कृष्ट स्थान पाएको बर्दिबास नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानको भनाइ छ । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७