एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
‘महाकाली सन्धि जलस्रोत उपयोगको हिसाबले सबैभन्दा राष्ट्रवादी’
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । तर, एमाले देश बनाउने अभियानमा रहेको सच्चाइलाई आम जनताले बुझ्नुपर्ने उनको भनाइ छ ।
आज (शुक्रबार) राजधानीको दरबारमार्गमा भएको पार्टीको जागरण सभालाई सम्बोधन गर्दै उनले भने, ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोक कल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् ।’
महासचिव शंकर पोखरेलले एकीकृत महाकाली सन्धि राष्ट्रवादी भएको दावी गरेका छन् । महासचिव पोखरेलले २०५३ असोज ४ गते नेपाल र भारतका बीचमा भएको महाकाली सन्धि राष्ट्रघाती भएको भए उहिल्यै कार्यान्वयनमा गइसक्ने बताए ।
‘नेकपा एमालेलाई चौतर्फी आक्रमण र घेराबन्दी गरिँदै आएको छ । एमालेलाई समाप्त पार्नका लागि अनेक प्रकारका षड्यन्त्र गरिएको छ । कहिले महाकाली सन्धिका नाममा एमालेलाई विभाजन गर्ने दुष्प्रयत्न गरियो । महाकाली सन्धि वास्तवमा नेपालको राष्ट्रहितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो । नेपालको इतिहासका जलस्रोतको उपयोगको सन्दर्भमा त्यो सबैभन्दा राष्ट्रवादीका रूपमा एकीकृत महाकाली सन्धिका रूपमा अगाडि बढाउनका लागि प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोसिस मात्र भएन, विभाजन समेत गरियो,’ उनले भने। तर चट्टान बनेर खडा भएका कार्यकर्ता पंक्तिले विभाजन गरेको पार्टीलाई एकताबद्ध बनाएको महासचिव पोखरेलको भनाई थियो ।