लुम्बिनीका प्रदेश प्रमुख घर्ती भन्छन्–तीन प्रदेश र ५०० भन्दा कम स्थानीय तह भए पुग्छ
बुटवल । लुम्बिनीका प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा तीन प्रदेश र ५०० भन्दा कम स्थानीय तह भए पुग्ने बताएका छन् । अन्तर–धार्मिक सद्भाव संघद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै घर्तीले सात प्रदेश र ७५३ स्थानीय तह मुलुकमा आवश्यक नभएको तर्क गरेका छन् ।
‘नेपालमा तीन प्रदेश, ७५ जिल्ला, संघीय सांसद बढीमा १५० जना, मन्त्री बढीमा १५ जना र पालिका ५०० सय भन्दा कम बनाउनु पर्छ’, उनले भने, ‘राष्ट्रियसभा, उपराष्ट्रपति, उपसभामुख, राज्यमन्त्री जस्ता पद पनि आवश्यक छैन ।’ प्रदेश प्रमुख घर्तीले फुटाइएका रुकुम र नवलपरासी जिल्लालाई फेरि एउटै बनाउनु पर्ने धारणा राखेका छन् ।
संविधानसभामा ६०१ जना सांसद बनाउँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई तीन पटकसम्म फोन गरेर सांसद बन्न अनुरोध गरे पनि आफूले ’काम छैन’ भनेर नगएको घर्तीले दाबी गरे । आर्थिक रूपमा कमजोर वर्ग राजनीतिमा लागेर अकूत कमाउने, सुविधा भोगी हुने प्रवृत्ति र अर्कोतिर धनाढ्यले सांसद र मन्त्री पद किनेर पार्टीहरूलाई नै आफ्नो कब्जामा लिएर सिंगो राजनीतिलाई विकृत बनाउने गरिएको प्रदेश प्रमुख घर्तीको टिप्पणी छ ।
‘राजनीतिमा आउँदा केही नभएका नेताहरू सांसद, मन्त्री भएपछि बिनाउद्योग, व्यापार पजेरो प्राडो चढ्ने, करोडौंका घर जग्गाका मालिक कसरी भए ?’, प्रदेश प्रमुख घर्तीले भने, ‘अर्कोतिर धनाढ्य व्यापारीले पैसाको बलमा टिकट पाउने, पैसाकै बलमा चुनाव जित्ने, सांसद र मन्त्री बन्ने परिपाटी भयो ।’