मन्त्री सिंहलाई कांग्रेसभित्रको गुटबन्दीको ‘चिन्ता’


२०८१ मङ्सिर १ शनिबार १९:४४ बजे

मोरङ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसलाई सुदृढ बनाउन गुटबन्दी न्यूनीकरण गर्नुपर्ने बताएका छन् । आज (शनिबार) कांग्रेस जिल्ला कार्यसमिति मोरङले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको लागि मूल चुनौती रहेको बताए । यसरी अब पार्टी नचल्ने भन्दै कांग्रेसलाई बलियो बनाउन पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा उनको जोड थियो ।

‘पार्टी व्यवस्थापन नै कांग्रेसको चुनौती हो । ग्रुपिजम न्यूनिकरण गर्दै जानुपर्छ,’ कांग्रेस पूर्व महामन्त्री समेत रहेका सिंहले भने । पार्टीमा आफूले सधै वरिष्ठतालाई मानेको भन्दै उनले १४औं महाधिवेशनमा वरिष्ठताकै आधारमा आफूले सभापति दाबी गर्दा पूर्वमान्यताबाट केही नेता विचलित भएको बताए । आफ्नो अनुकूल हुँदा वरिष्ठता भन्ने र प्रतिकूल हुँदा वरिष्ठता केही होइन भन्ने प्रवृत्ति १४औं महाधिवेशनमा देखिएको भन्दै उनले आफ्नो स्वभाव वरिष्ठतालाई सम्मान गर्ने र पार्टीमा सबैसँग मिलेर काम गर्ने रहेको प्रष्ट पारे ।

आउँदो महाधिवेशनमा के गर्नेभन्दा पनि पार्टी संगठनलाई कसरी बलियो बनाउनेतर्फ आफ्नो ध्यान रहेको सिंहको भनाई थियो । उपप्रधानमन्त्री सिंहले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार बनेको भन्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिकै लागि सरकारले काम गरिरहेको बताए । कार्यक्रममा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, केन्द्रीय सदस्य डिला संग्रौलालगायतका नेता, कार्यकर्ता सहभागी थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७