अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का
अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित सुनिश्चित भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्ने पक्का भएको हो ।
सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मत गणनामा पनि ठूलो अन्तरले अगाडि छन् । ट्रम्प सन् २०१६ मा पहिलो पटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
रिपब्लिकन पार्टीले यसपटक राष्ट्रपति निर्वाचन मात्र होइन तल्लो र माथिल्लो दुवै सदनमा समेत कब्जा जमाउने पक्का भएको छ । जित पक्का भएपछि ट्रम्पले फ्लोरिडास्थित चुनावी अभियानको मुख्यालयमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो कार्यकाल स्वर्णयुग सरह हुने दाबी गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ । अमेरिकाको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत ल्याउने निश्चित भएको छ । एक सय सिटको सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५१ सिट जित्ने निश्चित भएको सीएनएनले प्रक्षेपण गरेको छ ।
ओहायो र वेस्ट भर्जिनिया राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवारहरूले डेमोक्रेटिक पार्टीका वर्तमान सिनेटरलाई पराजित गरेको हो । योसँगै डेमोक्रेटिक पार्टीले २०२१ यता सिनेटमा बहुमत गुमाएको छ । उनी विजयी भएसँगै उपराष्ट्रपतिमा प्रतिस्पर्धा गरेका जेडी भान्स स्वतः निर्वाचित हुनेछन् ।
अमेरिकामा सिनेटको अध्यक्ष उपराष्ट्रपति हुन्छन् । उनले सिनेटका सत्रहरूको अध्यक्षता गर्नुका साथै निर्णायक मत दिन्छन् । सिनेटले विधयेक पारित गर्नुका अलावा राष्ट्रपतिद्वारा नियुक्त मन्त्रिपरिषद् सदस्यहरू, सर्वोच्च अदालत र अन्य संघीय न्यायाधीशहरू र राजदूतहरूको नियुक्ति पारित गर्नुपर्छ ।