रास्वपाले पुराना दलसँग तालमेल नगर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो मंसिर १६ मा हुने स्थानीय तह निर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने भएको छ । नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने बताएको छ । पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ ।
सहमहामन्त्री विपिन आचार्यले पारिवारिक कारणले समय दिन नसक्ने भनेपछि पराजुलीले यो जिम्मेवारी पाएका हुन् ।कार्यदलमा ७ देखि ९ जनासम्म रहने पराजुलीले जानकारी दिए । ३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।
जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पुराना दलसँग चुनावी तालमेल नगर्ने कार्यदलका संयोजक पराजुलीले बताए ।
रास्वपाले उपनिर्वाचनका लागि तीन वटा विकल्प अघि सारेको छ । आफ्नै दलको उम्मेदवार उठाउने, गैर दलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने र गैर दलीय उम्मेदवारलाई रास्वपाको चुनाव चिह्नमा उठाउने विकल्प अघि सारेको हो। आफ्नो दलको उम्मेदवारले जित्न नसके राम्रो स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने रास्वपाको भनाइ छ ।
रास्वपाका नेताहरूका अनुसार आसन्न स्थानीय तहको उपनिर्वाचनलाई आन्दोलनकै निरन्तरताको रूपमा पार्टीले लिएको छ । सभापति लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेपछि राजनीतिक प्रतिशोध भन्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ । पार्टी महाधिवेशनको प्रक्रियामा रहेकाले चुनावलाई संगठन निर्माणको कामसँग जोडिने रास्वपाले जानकारी गराएको छ ।
प्रमुखका लागि कीर्तिपुर नगरपालिका, उपप्रमुखका लागि जाजरकोटको नलगाड नगरपालिका, अध्यक्षमा मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकामा चुनाव हुँदैछ । उपाध्यक्ष पदका लागि दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड, रुकुम पूर्वको पुथाउत्तरगंगा र बाजुराको स्वामीकार्तिक खापरमा उपनिर्वाचन हुनेछ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका अतिरिक्त खाली भएका वडाध्यक्षको पदका लागि पनि चुनाव गर्न लागिएको छ ।