पसलबाट घर फर्किरहेका व्यक्तिको खुकुरी हानी हत्या, छिमेकी पक्राउ
वीरगञ्ज । पसलबाट घर फर्किरहेका व्यक्तिको खुकुरी हानी हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जग्गासम्बन्धी विवादमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारू छन् । प्रहरीले बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ । गएको शनिबार साँझ साढे ७ बजे सोही स्थान बस्ने ५५ वर्षीय भूमि सुधार भन्ने नारायणप्रसाद यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
पसलबाट घर जाने क्रममा यादवको हत्या भएको थियो । घटनास्थलमा पुगेर प्रहरीले सोही दिन थारुलाई उनकै घरबाट पक्राउ गरेको थियो । घटनाको बारेमा अनुसन्धान गर्दै जादा भोग चलन गर्दै आएको जग्गासम्बन्धी पुरानो रिसइबी तथा विवादको कारण उनले यादवको हत्या गरेको भनि खुल्न आएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । हत्यामा प्रयोग गरिएको खुकुरी पनि बरामद गरिएको सापकोटाले जानकारी दिए । पक्राउ परेका थारुलाई ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।