प्रेमी खटाएर श्रीमानको हत्या
वीरगञ्ज । वीरगञ्ज–३ छपकैयाका युवक वीरेन्द्र साह सोनारको हत्या आफ्नै श्रीमतीको प्रेमीले गरेको खुलेको छ । सोनारको हत्यामा संलग्न एक युवकलाई बारा प्रहरीले सार्वजनिक गरेको छ । अञ्दाजी २६ वर्षीय वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँपालिका–१ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक कात्तिक १ गते भेटिएको थियो ।
असोज २७ गते बाराको मुसहर्वामा लाग्ने मेला हेर्न भनेर घरबाट निस्किएका सोनारको शव कात्तिक १ गते पुल नजिक टाउको पछाडि चोट लागेको अवस्थामा भेटिएको थियो । सोनारको हत्यामा संलग्न मुख्य आरोपित पर्साको बहुदरमाई नगरपालिका–९ का २८ वर्षीय विजयकुमार साह कलवारलाई बारा प्रहरीले सोनारको हत्या भएको एक हप्तापछि भारतको रक्सौलबाट पक्राउ गरेको हो ।
उनलाई आज (बिहीबार) प्रहरीले सार्वजनिक गरेको हो । सोनारको शव भेटिएकै दिन प्रहरीले सोनारकी श्रीमति मनिषा देवीलाई पनि नियन्त्रणमा लिएको थियो । बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले सोनारकी श्रीमती मनिषा र विजयबीच प्रेम सम्बन्ध रहेको र त्यसैका कारण विजयले सोनारको हत्या गरेको अनुसन्धानमा खुलेको जानकारी दिए ।
असोज २७ गते मुसहर्वाको मेला हेरेर फर्कने क्रममा राति ९.३० बजेको समयमा विजयले पछाडिबाट गम्छाले सोनारको घाँटी कसेर हत्या गरेको र शव गण्डक नहर छेउको त्रिवेणी पुलमुनि फालेर हिंडेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिएका छन् । सोनारको हत्यामा उनकी श्रीमती मनिषाको पनि मिलोमतो रहेको देखिएकाले उनलाई पनि प्रहरी हिरासतमा राखेर कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।