‘सहकारी ठगीमा संलग्न छैन, गोरखा मिडियाको खर्चको कानुनी जिम्मा लिन्छु’


२०८१ असोज ८ मंगलबार २३:०१ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू सहकारीको रकम ठगीमा संलग्न नभएको पुष्टि संसदीय छानबिन समितिले नै गरेको दावी गरेका छन् । आज (मंगलबार) साँझ फेसबुक लाइभमा बोल्दै लामिछानेले समितिको सिफारिसलाई कार्यान्वयन गर्न तयार रहेको उल्लेख गर्दै, गोरखा मिडियामा आफू कार्यरत रहँदा आएको रकम खर्चको कानुन अनुसारको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

उनले भने, ‘मैले सहकारीबाट कुनै ऋण लिएको छैन, त्यसैले म निर्दोष ठहर भएको छु । यस विषयमा अब थप बोल्न आवश्यक छैन । तर, कार्यालयमा आएको रकम खर्चबारे कानूनी कारबाही हुनुपर्छ भने, म त्यसका लागि तयार छु ।’ उनले सहकारीको रकम अन्य सञ्चारमाध्यमहरूमा पनि गएको खुलासा भएको उल्लेख गर्दै ती संस्थाहरूलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरे ।  उनले एपिवान टेलिभिजनमा पनि सहकारीको रकम गएको प्रतिवेदनमा उल्लेख भएको बताउँदै यो विषयमा मौनता साँधिएको आरोप लगाए । आफूलाई मात्रै टार्गेट गर्न खोजिएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

लामिछानेले पूर्व डिआईजी छविलाल जोशीलाई आफूलाई फसाउनकै लागि पक्राउ गरिएको आरोप लगाए । उनले जोशीलाई आफ्नो पक्राउ सुनिश्चित गर्न नै पक्राउ गरिएको दाबी गरे । लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा थप कानूनी प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिए ।

उनले दशैंको समयलाई लक्षित गरेर आफूलाई काठमाडौं सुनसान हुँदा पक्राउ गर्न खोजिको आशंका समेत व्यक्त गरे । ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । प्रमाणले देखायो भने म तयार छु, तर छलछाम स्वीकार्य छैन’, लामिछानेले थपे ।
उनले विगतमा प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको भन्दै सत्यलाई राजनीतिक सत्तासँग मिलाएर तोडमोड गर्न नसकिने बताए ।

‘सत्तापक्ष र प्रतिपक्षको सिट फेरिए पनि सत्य फेरिंदैन, अन्याय गर्न पाइँदैन’, उनले भने । लामिछानेले आफूलाई समर्थन गर्न आएका मानिसहरूलाई भिडको संज्ञा नदिन आग्रह गर्दै भने, ‘उनीहरू भिड होइनन्, शुभचिन्तक हुन् । अन्याय हुँदा जनताले स्वतः बोल्छन्, मैले अपिल गरेको होइन ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७