ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो


२०८१ असोज ७ सोमबार २३:०६ बजे

काठमाडौं । ढल्केबर–सीतामढी ४००-२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद निराकरणमा सक्रियता देखाएसँगै लामो समयदेखिको विवाद टुङ्गिएको हो ।    

अरुण तेस्रो जलविद्युत आयोजनाले निर्माण गरेको ढल्केबरदेखि सीतामढीको ४००-२२० केभी डबल सर्किट प्रसारण लाइनको दुई किलोमिटर बढी लामो प्रसारण लाइनले चर्चेको जग्गा (राईट अफ वे)मा विवाद भएपछि मन्त्री खड्का आफैले सरोकारवालासँग बसेर समस्याको समाधान गरेका हुन् ।

समस्या समाधानसँगै लाइन निर्माण तत्काल सुचारु गर्ने सहमति समेत भएको छ  । मन्त्री खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको तर्फबाट ढल्केबर सवस्टेशनमा जडान गर्नुपर्ने ४००-२२० केभी (३१५ एमभीए) को ट्रान्सफर्मर जडान सुरु गरिसकेकामा १५ दिनभित्र (टेस्टिङ कमिसनिङ) लगायत सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

उक्त ट्रान्सफर्मर जडान भएपछि नेपालले एक हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्न पाउने गरी नेपाल र भारतबीच संयुक्त प्राविधिक संयन्त्रको बैठकमा यसअघि सहमति भइसकेको छ । मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले उक्त समस्या समाधान हुनु अरुण तेस्रो जलविद्युत आयोजनाका लागिमात्र नभएर अन्तरदेशीय विद्युत व्यापारका दृष्टिकोणले ठूलो उपलब्धि भएको बताए ।

अरुण तेस्रोबाट उत्पादित विद्युतको २१ दशमलव नौ प्रतिशत अंश नेपाल सरकारले निःशुल्क पाउने व्यवस्था भएकोमा सो बिजुली नेपालभित्र खपतका लागि आवश्यक नपरेमा यसै प्रसारण लाइनबाट भारत निर्यात गर्न सकिनेछ । उनले आजै ढल्केब र सव–स्टेशनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । देशकै सबैभन्दा ठूलो ढल्केबर सव–स्टेशन ४०० केभीको ‘जीआईएस’ प्रविधिबाट निर्माण गरिएको छ  । 

मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले उक्त सवस्टेशनको निरीक्षण गरेका थिए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७