इजरायलले लेबनानमा गरेको आक्रमणबाट एकै दिन १८२ जना मारिए, ७२७ घाइते 


२०८१ असोज ७ सोमबार २३:०८ बजे
दक्षिणी लेबनानमा इजरायली सेनाले सोमबार गरेको हवाई आक्रमण । तस्वीर : एपी

बेरुत । इजरायलले दक्षिणी लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा १८२ जना मारिएका छन् ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ७२७ जना घाइते भएका छन् । बीबीसीका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन् ।

अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन् । इजरायली सेनाले भने लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तर आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने उल्लेख गरेको छैन ।

इजरायली सेना आईडीएफका प्रवक्ता डानियल हगारीले दक्षिणी लेबनानका तीन सय स्थानलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन् । ‘हामीले आक्रमण गरेका हरेक घरमा हातहतियार थिए,’ उनले भनेका छन् । हगारीले इजरायली सेनाले बेका उपत्यका क्षेत्रमा रहेका हेजबुल्लाहका सैन्य केन्द्रमा छिट्टै आक्रमण गर्ने बताएका छन् ।

इजरायलले गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरू गरेयताकै भयानक आक्रमण गरेको हो । प्यालेस्टिनी समूह हमासले गत वर्ष उत्तरी इजरायलमा गरेको आक्रमणमा कम्तीमा १२ सय जनाको ज्यान गएको थियो । त्यसका साथै हमासले २५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो । 

त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा करिब ४२ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ । इजरायलले हमासविरुद्धको आक्रमण तीव्र पारेसँगै हेजबुल्लाहले हमासलाई सहयोग गर्ने घोषणा गरेको थियो । जसका कारण इजरायलले हेजबुल्लाहलक्षित आक्रमण सुरु गरेको हो ।

गत साता हेजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोटमा कम्तीमा ३७ जनाको ज्यान गएको थियो । ती घटनामा ३ हजार ५ सयभन्दा बढी घाइते भएका थिए । हेजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको बताउँदै घटनाको बदला लिने चेतावनी दिएको थियो । तर इजरायलले भने त्यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

त्यस्तै, इजरायलले शुक्रबार लेबनानको राजधानी बेरुतमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका शीर्ष सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको थियो । हेजबुल्लाह र हमासलाई इजरायल, अमेरिका, यूके लगायतका देशले आतंककारी समूह घोषित गरेका छन् । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७