सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ : रवि लामिछाने
‘एमडीले चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको दाबी गरेका हुन् ।
लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागीदार हुने बताए ।
‘जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरामा समितिले स्पष्ट पारेको छ । बाँकी प्रचलित कानूनअनुसार कहीँ कतै गडबढ गरेको भए सजायको भागीदार हुनुपर्छ नि । गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गलत भएको रहेछ भने, कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा मबाट गल्ती भएको रहेछ भने त्यसको भागीदार हुनुपर्छ । सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ ।’
ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडियामा लामिछाने प्रबन्ध निर्देशक थिए । ‘अझै पनि भाष्य निर्माण गर्न त्यहाँबाट गएको पैसा त्यसले चलाएको त हो नि भनेर भनिएको छ,’ संसदीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेका विषयप्रति लक्ष्य गर्दै लामिछानेले भने, ‘आएको पैसा त्यहाँ आन्तरिक प्रशासन चलाउन चेक नकाटेर एमडीले के घाँस काट्ने कुरा त आउँदैन नि त । चेक नै काट्ने होला नि !’
संसदीय छानबिन विशेष समितिले आज प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदनमा सूर्यदर्शनसहितका पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियाले अपचलन गरेको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।