माछा–भात खाएर सुतेका एकै घरका तीन बालबालिकाको मृत्यु
रौतहट । बारामा माछा–भात खाएर सुतेका एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ । माछा–भात खाएर खाएर सुतेका उनीहरुको ‘फूड पोईजनिङ’ का कारण मृत्यु भएको जनाइएको छ ।
फुड पोइजनिङबाट स्थानीय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारका तीन जना नाबालक छोराछोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताए । छिमेकी राजदेव रामका अनुसार आइतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्षकी लालिमा राम, ७ वर्षकी पुष्पा राम र ५ वर्षका छोरा कृष्णनन्दन राम माछा भात खाएर सुतेका थिए ।
केही समयपछि तीनै जना बालबालिकाको स्वास्थ बिग्रेपछि स्थानीयस्तरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल कलैया लगिए पनि उपचारका क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिए । जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टी गर्दै मृतक तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको तथा थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।