स्थानीयले जग्गा दिए, पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी


२०८१ श्रावण १० बिहीबार ०४:४४ बजे

खोटाङ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । 

अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका बासिन्दाले शान्ति, सुरक्षाको महसुस गरेका वडाध्यक्ष दिनेशकुमार कठेतले बताए । 

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भाजपुर सडकखण्डको पेलुङमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गरे । कार्यक्रममा जिल्लास्थित तीन वटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।  सोही कार्यक्रममा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय समाजसेवी केशरमान राई र अर्थमान राईले दुई-दुई रोपनी जग्गा उपलब्ध गराएका हुन् ।  जग्गादाता राईद्वयलाई सम्मान गरिएको थियो । 

१० स्थानीय तह रहेको खोटाङमा निर्मलीडाँडासँगै २३ स्थानमा प्रहरी चौकी स्थापना भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडा रहेको जिल्लामा जिल्ला प्रहरी कार्यालय, छवटा इलाका प्रहरी कार्यालय, तीन वटा विमानस्थल सुरक्षा गार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एक पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७