राजदूत सिफारिस गर्दा पूर्व विमर्श गरिएन, समाचारबाट थाहा पाएँ : प्याकुरेल (विज्ञप्ती)

काठमाडौं । मानव अधिकारकर्मी सुशील प्याकुरेलले नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् । राजदूत सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क, संकेत र पूर्व विमर्श नगरिएको भन्दै प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न अस्वीकार गरेका छन् ।
उनले आफ्नो सिफारिस फिर्ता लिन आग्रह गर्दै आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गरेका छन् । उनको वक्तव्यमा भनिएको छ, ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व परामर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु ।”
उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् । उनले प्रधानमन्त्री कार्यालयमा पद अस्वीकार गरेको पत्र दर्ता गराउँदै एक विज्ञप्ति पनि सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड, संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु ।’
