अल्पमतमा मधेसका मुख्यमन्त्री यादव, मन्त्रिमण्डल गरे पुनर्गठन
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकाबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
एमाले र माओवादीको भागमा परेका मन्त्रालय यादवले आफैसँग राखेका छन् । एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि यादवको मन्त्री मण्डलमा जसपा र एकीकृत समाजवादी पार्टी मात्र बाँकी छन् । एमाले र माओवादी दुवै दलले यादव नेतृत्वको सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिएका छन् । योसँगै जसपा नेपाल संसदीय दलका नेता यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । मधेस प्रदेश सरकारमा एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्री थिए । माओवादी केन्द्रका दुई मन्त्री थिए ।
एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए । त्यस्तै, केशव राय र शारदादेवी थापा राज्यमन्त्री थिए ।
माओवादी केन्द्रबाट भरतप्रसाद साह वन तथा वातावरण उद्योग, युवराज भट्टराई वाणिज्य तथा पर्यटनमन्त्री थिए । उनीहरूले आइतबार फरक–फरक समयमा मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनको असर मधेस प्रदेशमा देखिएको हो । जसपा, नेपाल विभाजन भई अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ । मधेस प्रदेशसभामा एमालेका २४ र माओवादी केन्द्रका ९ सांसद छन् । एमाले र माओवादीले सरकार छोडेपछि यादव नेतृत्वको सरकार ढल्ने निश्चितजस्तै छ । मधेश प्रदेशसभा १०७ सदस्यीय छ । यहाँ सरकार टिकाइराख्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
.gif)

.png)

