इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ

काठमाडौ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लक्ष्मीलाई ललितपुरको धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो ।
सरिता तिमल्सेना (कँडेल) सहितको जाहेरीको आधारमा उक्त सहकारीका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपाली समेत आठ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पूर्जी समेत जारी भएको थियो । गएको जेठ २ गते जिल्ला अदालत बाग्लुङबाट पक्राउ पूर्जी जारी भएपछि फरार भएकी २७ वर्षीया लक्ष्मीलाई सीआईबीले पक्राउ गरेको हो ।
पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।