टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज (मंगलबार) देखि पूर्ण सुनुवाइ हुने भएको छ ।
सर्वोच्चले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको हो । न्यायाधीश विनोद शर्माको इजलासले मंसिर ५ गते कारण देखाऊ आदेश जारी गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।
एकल इजलासले निवेदकहरूले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वाेच्चमा १४ रिट परेका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, सुनिल रञ्जन सिंह, जगन्नाथ दुलाल, यज्ञमणि न्यौपानेलगायतले मंसिर १ गते सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकमा प्रतिबन्ध लगाएसँगै अभिव्यक्ति स्वतन्त्रमाथि धावा बोलेको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ ।