एक हजार ५० थान स्लिपिङ ब्याग बोकेर चार मन्त्री उडे जाजरकोट

सुर्खेत । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि राहत र उपचारका सामाग्री बोकेर त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री श्रेष्ठको टोलीमा संघीय सरकारका चार मन्त्री र केही सांसदहरु समेत छन् ।
शुक्रबार मध्यरातको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मात्रै १५७ जनाको ज्यान गएको छ भने २०८ घाइतेको उपचार भइरहेको छ । भूकम्प र त्यसपछिका पराकम्पबाट त्रसित स्थानीयहरु चिसोमा खुला आकाशमुनि रात कटाउन बाध्य छन् ।
सरकारले राहतका सामाग्री पुर्याउन नसकेको गुनासो आइरहेका बेला गृहमन्त्री श्रेष्ठसहित चार मन्त्री राहत सामग्री बोकेर त्यसतर्फ उडेका हुन् । उनीहरुले १,०५० थान स्लिपिङ ब्याग, २०० थान त्रिपाल र १०० थान ब्ल्याङकेटसहितका सामाग्री लगेका छन् ।
टोलीमा उपप्रधानमन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत र सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्र पुगेर उद्धार र उपचारका लागि निर्देशन दिएका थिए । आइतबार बिहान बसेको बैठकले अब राहत र पुनःस्थापनाका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।