चाडपर्व अघि नै ५० प्रतिशत छुटमा २० हजार टन चिनी ल्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले चाडपर्वलाई लक्षित गरेर २० हजार टन चिनी ल्याउदा ५० प्रतिशत भन्सार छुटदिने निर्णय गरेको हो ।
नजिकिएका चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्यान्न ब्यवस्थापन तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिएर १०-१० हजार मेट्रिक टन चिनी आयत गर्न स्विकृत गर्ने निर्णय गरिएको हो ।
सरकारले अहिले चिनीमा ३० प्रतिशत भन्सार महसुल लगाउने गरेको छ । यस्तोमा मन्त्रिपरिषद्ले २० हजार टन चिनी आयात गर्न दुईवटा कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले चाडपर्वका लागि ६० हजार टन चिनी आयात अनुमति मागेको थियो । तर सरकारले नेपाली बजारमा अहिले पर्याप्त चिनी रहेकाले बजार मूल्यमा हस्तक्षेपका लागि २० हजार टन मात्रैका लागि भन्सारमा सहुलियत दिइएको जनाएको छ ।