अझै निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’


२०८० श्रावण १२ शुक्रबार ११:०२ बजे

गोरखा । गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झण्डै सात वर्ष बितिसक्दा समेत अझै अपूरो छ । निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको सिटीहल निर्माणको काम अहिलेसम्म ६० प्रतिशत मात्र सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख सुरज पौडेलले बताए ।

ठेक्का सम्झौताको चौथो पटक थपिएको म्यादसमेत सकिनै लागेको छ । यसका लागि कार्यालयले कम्पनीसँग रु ३० करोड ८० लाख ९० हजार नौ सय ३२ मा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले २०७७ माघ १० गतेभित्र कम्पनी काम सम्पन्न गर्नुपर्ने थियो ।

‘बेसमेन्ट, फाउन्डेसन निर्माणमा भिरालो जमिनका कारण कठिनाइ भएकाले तोकेको भन्दा बढी समय लागेको र काममा ढिलाइ भएको भएको हो’, उनले भने, ‘कोरोना संक्रमण र त्यसपछि आर्थिक मन्दीसँगै सभाहलमा ट्रष्टको डिजाइन सुरुभन्दा पछि फरक पर्न जाँदा र डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलाइ हुनपुगेको हो ।’

चौथो पटक थपिएको म्याद सकिन लागेकाले अब अन्तिम पटक म्याद थपका लागि मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । ‘यदि म्याद थपिएको एक वर्षभित्रमा पूरा हुनुपर्छ’, एकाइ पौडेलले भने, ‘सबै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीले थप एक वर्ष समय मागेको छ ।’ गोरखा सदरमुकामको नयाँ बसपार्कमा झण्डै १२ रोपनी जग्गामा सिटीहल निर्माण भइरहेको छ ।

उक्त सिटीहल सात सय ६२ अट्न सक्ने क्षमताको छ । ‘बालकुुनेमा दुई सय जनाको क्षमता हो भने मुख्य हलमा पाँच सय ६२ जनाको क्षमता भएको हल निर्माण गर्न लागिएको छ’, उनले भने, ‘त्यस हलमा मल्टिप्रपोज हल, बालकुने, इलोक्टोनिक रुम, गार्डरुम र शौचालय बनिसकेको छ ।’ अबको एक वर्षभित्रमा सबै निर्माणको काम सम्पन्न गरी सिटीहल गोरखा नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको उनले जानकारी दिए । निर्माण कम्पनीलाई पेश्कीस्वरुप झण्डै रु २२ करोड भुक्तानी भइसकेको सङ्घीय आयोजन कार्यान्वयन एकाइ कास्कीले जनाएको छ ।

निर्माण कम्पनीका व्यवस्थापक श्रवणकुमार कुशवाहले सबै काम लगभग अन्तिम चरणमा रहेको र बाँकी ‘स्टक्चर’ अनुसार काम भइरहेको जानकारी दिए । ‘बेस्टमेन्ट’ र ‘फाउन्डेसन’ का कारण छ–सात महिनासम्म पनि काममा गति दिन नसक्दा निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७