काठमाडौं, २३ बैसाख । साढे ३३ किलो सुन काण्डमा पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले खटाएको ड्यूटीमा लाग्ने भन्दा पनि विमानस्थलमा ‘तस्करको लाइन’ चलाएर कमिसन खाने गरेको पाइएको छ ।
‘गोल्ड डन’ अर्थात चुँडामणि उप्रेती (गोरे) का सहयोगी कृष्ण भन्ने नरेन्द्र कार्कीले सुन छानविन समिति समक्ष बयान दिने क्रममा आफैंले पटक–पटक गरेर श्याम खत्रीलाई लाखौं दिएको बताएका छन् । २०७२ असोजपछि लामो समय त्रिभुवन विमानस्थलमा बसेका खत्रीले ड्राइभर र बडिगार्ड प्रयोग गरेर आफ्नै गाडीमा सुन ओसार–पसार गर्ने गरेको तथ्य उनकै ड्राइभर प्रहरी जवान विष्णुबहादुर खड्काले बताएका थिए ।
‘गोरेले भनेर मैले करिब ९ महिना अगाडि एसएसपी श्याम खत्रीलाई बानेश्वरको ह्वाइट हाउस कलेज छेउमा भेटेर १६ लाख दिएको थिएँ’, समितिलाई यान दिंदै नरेन्द्र कार्कीले उल्लेख गरेका छन्, ‘ह्वाइट हाउसमा पैसा दिन जाँदा एसएसपी खत्रीसँग मैले नचिनेका एक जना गाडी चालक समेत थिए ।’ ‘गोरे’ ले खत्रीलाई आवश्यक पर्दा स्कोरपियो गाडी समेत दिने गरेको खुलेको छ । सुन तस्करले पठाएको स्कोरपियो खत्रीले आफ्नो सहयोगी पठाएर काठमाडौंको घण्टाघरबाट रिसिभ गरेको कार्कीले बयान दिएका छन् ।
२०७३ पुस २३ गते एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल हुँदै आएको साँढे ३३ किलो सुन प्रकरणमा श्याम खत्री प्रहरी प्रधान कार्यालयबाटै पक्राउ परे । त्यतिबेलासम्म सुन तस्करीको कमिसन बापतको रकम ‘गोरे’ बाट खत्रीले एक करोड लिन बाँकी रहेको खुलेको छ ।
‘३३ किलो सुन काण्डमा श्याम खत्री पक्राउ परेपछि गोरे भन्ने चँुडामणि उप्रेतीले निजले एसएसपी खत्रीलाई सुन पास गराई दिए बापतको एक करोड दिन बाँकी छ भन्ने कुरा गरेको थियो’– मोरङ जिल्ला अदालतमा पेश गरिएको अभियोग पत्रमा उल्लेखित बयानमा कार्कीले भनेका छन्, ‘तर, उक्त पैसा खत्रीलाई चुँडामणि उप्रेतीले दियो वा दिएन त्यो चाहिँ मलाई थाहा छैन ।’