विश्वकप यात्रा टुङ्गिएपछि स्पेनका प्रशिक्षक इनरिकेले दिए राजीनामा

काठमाडौं । कतार विश्वकपको अन्तिम–१६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटबाट पराजित भएपछि स्पेनका प्रशिक्षक लुइस इनरिकेले पदबाट राजीनामा दिएका छन् ।
आज (बिहीबार) इनरिकले राजीनामा दिएको जानकारी दिँदै स्पेन फुटबल संघले भनेको छ, ‘पछिल्लो वर्षमा स्पेनको राष्ट्रिय टिमलाई बलियो बनाएकोमा लुइस इनरिके र उनको कोचिङ स्टाफलाई धन्यवाद । उनको सुन्दर भविष्यका लागि शुभकामना ।’
५२ वर्षीय इनरिकेले २०१८ मा स्पेनमा राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेका थिए ।
उनको प्रशिक्षणमा स्पेन युरो २०२० को सेमिफाइनलसम्म पुगेको थियो । कतार विश्वकपको अन्तिम–१६ मा स्पेन पेनाल्टी सुटआटमा ३–० ले पराजित भएको थियो । यरो कपमा पनि स्पेन इटालीसँग पेनाल्टी सुटआउटमै पराजित भएको थियो ।
स्पेन यूईएफए नेसन्स लिगको फाइनलमा पनि फ्रान्ससँग पराजित भएको थियो । स्पेनिस फुटबल संघले अब ‘नयाँ परियोजना’ सुरु गर्नुपर्ने बताएको छ । तर, नयाँ प्रशिक्षकको घोषणा कहिले हुन्छ भन्ने समय सीमा भने तोकेको छैन ।