काठमाडौं, २९ चैत : नेत्रविक्रम चन्द (विप्लव) को नेपाल कम्युनिष्ट पार्टीको नाम भजाउँदै व्यवसायीबाट दुई करोड रुपैयाँ मागेको आरोपमा तरुण दलका केन्द्रीय महाधिवेशन प्रतिनिधिसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका महाधिवेशन प्रतिनिधि गोरखा अजिरकोट–४ का ४० वर्षीय चेतबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय सोमबहादुर गुरुङ, सिरानचोक–८ का ३८ वर्षीय वसन्त भनिने वीरबहादुर गुरुङ र सुलिकोट–४ का २३ वर्षीय गणेश भनिने सुनिल ढकाल छन् ।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक उद्योग अन्तर्गत मुद्दा दर्ता गरेर ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताएका छन् । ब्यूरोका अनुसार पक्राउ परेका चेतबहादुर मुख्य योजनाकार हुन् भने वसन्तले भारतको दिल्लीमा गएर भारतीय नम्बरबाट एसएमएस गरेर धम्क्याएका थिए । उनीहरुले रकम नदिएमा घर बमले उठाई दिने र ज्यान मार्ने भन्दै धम्क्याएका थिए ।