जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छ : ओली
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाट मात्र हुने बताएका छन् ।
एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताए । उनले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताए । उनले भने, ‘आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ’, उनले भने । लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उनले जोड दिए ।
नेपालमा संविधान र कानूनमा विभेद हटेको वर्षौ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उनको भनाइ छ । उनले देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्य तहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताए ।
आजै उनले आज झापा क्षेत्र नं ४ सुरुङ्गा बजारमा आयोजित चुनावी सभामा मुलुकलाई राष्ट्रियता र लोकतन्त्रको निम्ति लड्न सक्ने शक्तिको खाँचो भएको बताएका छन् । मुलुकमा सुसाशन कायम गर्ने, विकासलाई अगाडि बढाउने र राष्ट्रियताका लागि लड्ने सक्ने शक्ति अबको आवश्यकता भएको उनले बताए ।
अध्यक्ष ओलीले यी सब गर्ने र राष्ट्रिय निर्माणको सङ्कल्प बोकेको शक्ति मुलुकमा एमाले बाहेक अरु कुनै पनि हुन नसक्ने जिकिर गरे । उनले विगतको ४१ महिना आफू प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हालै पार्टीले सार्वजनिक गरिएको घोषणापत्रमा समेत उल्लेख गरेको बताए । ‘एमालेले गरेका सय वटा कामका बारेमा बसेकै ठाउँबाट भन्न सक्छु’, उनले भने ।