थाइ एयर एसियाको प्रतिबन्ध फुकुवा, यस्तो छ शर्त
काठमाडौं । उडान अनुमति नलिई काठमाडौँ आउँदा कारबाहीमा परेको थाइ एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति फुकुवा गरेको छ । यही कात्तिक ११ गते (आइतबार) अनुमति बिना बैंककबाट काठमाडौँ आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो ।
करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्राधिकरणले थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरेको थियो भने नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको थियो ।
प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाइ एयरले माफी मागेपछि आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने शर्तमा प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो । योसँगै अब थाइले आइतबारदेखि (३ नोभेम्बर) दुबै विमानस्थलमा नियमित उडान गर्ने छ ।