डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका दुई नायव महानिरीक्षक (डीआईजी) को एआईजीमा बढुवा सिफारिस भएको छ। गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा (टंगाला) र ढकाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय (नक्साल) मा कार्यरत छन् । बुधबारको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको समितिको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।