चीनले पाँच वर्षमा नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता
काठमाडौं । चीनले पाँच वर्षको अवधिमा नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहायता प्रदान गरेको छ । चीनले उक्त सहायता आर्थिक वर्ष सन् २०१६-१७ देखि २०२०-२१ सम्मको पाँच वर्षको अवधिमा नेपाललाई उपलब्ध गरेको हो ।
अनुदान, व्याज बिनाको ऋण र सहुलियतपूर्ण ऋण शिर्षकमा चीनले उक्त सहायता प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट पार्टनर प्रोफाइल बुक’ मा उल्लेख भए अनुसार चीनले सो अवधिमा नेपाललाई कुल ३८ करोड ४ लाख ५० हजार अमेरिकी डलरको सहायता (करिव ४९ अर्ब ८२ करोड ९ लाख ५४ हजार रुपैयाँ) उपलब्ध गरेको छ ।
पाँच आर्थिक वर्षमध्ये सबैभन्दा ठूलो सहायता सन् २०१८-१९ मा नेपालले प्राप्त गरेको थियो । सो वर्ष नेपालले १५ करोड ३ लाख ७० हजार अमेरिकी डलर सहायता चीनबाट प्राप्त गरेको थियो । अर्थ मन्त्रालयका अनुसार चीनले मुख्यगरी नेपालको उर्जा विकास, आर्थिक तथा प्राविधिक सहयोग, हवाई यातायात, पुनर्निर्माण र कोभिड–१९ नियन्त्रणमा आपत्कालीन सहायत गरी पाँच क्षेत्रमा ठूलो लगानी गरेको छ ।
चीनले आर्थिक वर्ष सन् २०१६-१७ मा ४ करोड १२ लाख ४४ हजार २५४ अमेरिकी डलर, २०१७-१८ मा ५ करोड ८७ लाख २७ हजार ७८ अमेरिकी डलर, २०१८-१९ मा १५ करोड ३ लाख ७० हजार ५४० अमेरिकी डलर, २०१९-२० मा ९ करोड ३० लाख २६ हजार ७८७ अमेरिकी डलर र २०२०-२१ मा ३ करोड ७० लाख ८१ हजार ६५० अमेरिकी डलर उपलब्ध गरेको थियो ।
नेपाल र चीनबीच सन् १९५६ को अक्टोबरमा पहिलोपटक आर्थिक सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत सहायता उपलब्ध गराउँदै आएको छ ।
नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ का दिन कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । चीनले सन् १९६० जुलाईमा काठमाडौंमा आवासिय दूतावास खोलेको थियो । नेपालले सन् १९६१ सेप्टेम्बरमा बेइजिङमा आवासिय दूतावास खोलेको थियो ।