संघ र प्रदेशको निर्वाचनमा सोंचे भन्दा बढी सिट जित्छौं : अध्यक्ष नेपाल

डोटी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् ।
एकीकृत समाजवादी जिल्ला कमिटी डोटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्’, उनले भने ।
फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए । उनले भने, ‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ/प्रदेशको निर्वाचनमा हामी सोचे भन्दा बढी सिट हासिल गर्छौ ।’