पूर्वमन्त्री पद्मा अर्यालका पति वडा सदस्यमा पराजित
स्याङजा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका-१ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।
वडा १ मा १,८३४ मत खसेको थियो । विजयी अर्यालले १,११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए । वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् । वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धामा छन् ।
पराजित पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाबी मैदानमा उत्रेपछि हार-जित भइहाल्छ । जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं ।’