शेखरसँगको सहमति ‘तुहाएर’ संखुवासभा पुगेका शशांकले भने, ‘म आफै सभापतिमा उठ्छु’
संखुवासभा, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा उम्मेद्वारी दिने बताएका छन् । संखुवासभा पुगेका महामन्त्री कोइरालाले तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग आफू सभापतिको उम्मेद्वार बन्नेमा कुनै शंका नरहेको स्पष्ट पारेका हुन् । तोकिएको समयमा महाधिवेशन हुनेमा कुनै शंका नरहेको भनाई उनको छ ।
न्यायालय छुट्टै निकाय भएकाले त्यसको निदान त्यहींबाट हुने भन्दै महामन्त्री कोइरालाले गठबन्धनको सरकारका कारण काम उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरे । कांग्रेसको सरकार आएपछि कम्तिमा २५ प्रतिशत बजेट कृषिमा विनियोजन गरी क्रान्तिकारी परिवर्तन गर्ने दावी गर्दै उनले आगामी निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन नहुने र काग्रेस एक्लै निर्वाचनमा लड्ने समेत दावी गरे । महामन्त्री कोइराला चुनावी प्रचारप्रसारका क्रममा संखुवासभा पुगेका हुन् ।
सर्लाहीको हरिवनमा सोमबार भएको कांग्रेस भेलामा डा. कोइरालाले इतर समूहबाट केन्द्रीय सदस्य डा. शेखर साझा उम्मेदवार हुन सक्ने संकेत गरेका थिए । ‘शेखर दाइ पनि लागिरहनुभा’छ, भिडिरहनुभा’छ, गरिरहनुभा’छ । मैले भनिहाले उहाँ र मैले मिलेर जानुपर्छ भन्ने तपाईंहरुको भावना हो, त्यो म भावनालाई कदर गर्छु, त्यसलाई म सम्मान गर्छु,’ उनले इतर समूहका आकांक्षीबारे सर्लाहीमा कार्यकर्तालाई भनेका थिए, ‘शेखर दाइसँग कुरा हुन सक्या छैन । म काठमाडौं जाने बित्तिकै कुरा उहाँसँग राख्छु । उहाँलाई सभापति हुन मन छ भने अरूलाई पनि कन्भिन्स गर्नुप¥यो । मलाई त गरिहाल्नुहुन्छ, उहाँले । नत्र मैले उहाँलाई कन्भिन्स गर्नुपर्छ ।’
उनैले गरेको त्यही संकेत अनुसार उनी काठमाडौं फिरेपछि दुई कोइराला दाजुभाइबीच मंगलबार वार्ता भएको थियो । महाराजगञ्जस्थित निवासमा बुधबार बिहान साढे १० बजे पत्रकार सम्मेलन गरेर कोइराला परिवारबाट शेखरलाई सभापतिको उम्मेद्वार घोषणा गर्ने कार्यक्रम ‘तुहाएर’ उनी एकाएक संखुवासभा गएका हुन् ।