राष्ट्रियसभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?
काठमाडौं, २१ असार । राष्ट्रियसभाको बैठक आज (सोमबार) पनि बस्दै छ । आठौं अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित छ ।
यही असार १७ गतदेखि शुरु भएको आठौं अधिवेशनको बैठक हिजो पनि बसेको थियो । प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभाको अधिवेशन भने सञ्चालन भएको छ ।