गोरखा, १३ फागुन : जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् ।
२०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो । जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो। दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् । तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ । सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो। पौडेल फरार छन् ।
जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुन। अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्ने छ । म्याद बुझेपछि उनलाई अदालतमा बकपत्र गराइने पन्तले बताए । यसअघि पनि पटक–पटक सर्दै आएको पेशीमा आइतबार सुनुवाई भएको हो । किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् । हत्या भएका कृष्णप्रसादका बुबा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो भने आमा गंगामाया अहिले पनि अनशनमा नै रहेको छिन् । नन्दप्रसादको शव अहिलेसम्म परिवारले बुझ्न मानेको छैन ।
तत्कालीन नेकपा–माओवादीका कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या गरेका थिए । जयमंगलमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका कृष्णप्रसादलाई सुराकीका आरोपमा हत्या गरिएको जनाइएको थियो । हत्यालगत्तै जेठ २६ मा दोषी पहिचान गरी कारवाही गरी पाऊँ भनेर नन्दप्रसादले चितवन प्रहरीमा उजुरी दिएका थिए। त्यस्तै २०६२ मंसीर २६ मा नुरप्रसादले आफ्नो भाइको हत्यामा संलग्न भएको भनेर १३ जनाको नाम नै किटान गरेर चितवन प्रहरीमा उजुरी दिएका थिए ।