भारतीय नारीमाथि शंका गर्नेले हिमानीसँग संस्कार सिकून् : सांसद प्रदीप यादव


२०७७ चैत ३० सोमबार १५:३२ बजे

काठमाडौं, ३० चैत । सांसद प्रदीप यादवले नेपालीसँग विवाह गर्ने भारतीय महिलाप्रति पूर्वाग्रह राखेर नागरिकतासम्बन्धी कानून बनाइएको बताएका छन् । आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यस्तै कानूनका कारण कैयौं जनता नागरिकताविहीन हुन परेको र त्यसले गर्दा नागरिकहरु अधिकारविहीन हुनुपरेको बताए ।

संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी ऐनमा वैवाहिक अंगिकृतलाई सात वर्षे प्रावधान राखेर विभेदपूर्ण व्यवस्था गरेको उनले बताएका छन् । उनले नेपालीसँग बिहे गर्ने कुन चाहिँ भारतीय नारीले नेपालमा राष्ट्रघात गरेका छन् भनी प्रश्न गरेका छन् ।

‘नेपालीसँग बिहे गर्ने भारतीय नारीहरु संघीय संसद र प्रदेश सभामा समेत सांसद रहेको र उनीहरुले के राष्ट्रघात गरेका छन्,’ उनले सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रश्न गरे, ‘पूर्व राजाहरुका रानीहरु पनि भारतीय नारी नै थिए, पशुपति शमसेरलगायत राणाहरुका श्रीमति पनि भारतीय नारी नै हुन्, उनीहरुले के राष्ट्रघात गरे ?’

पूर्व युवराज पारसकी श्रीमती हिमानीको उदाहरण दिँदै उनले भारतीय नारीहरु कति संस्कारयुक्त हुन्छन् भन्ने कुरा नेपालीहरुले उनीबाट सिक्न आग्रह गरे । ‘पारसको चर्तिकलाबारे सबैलाई थाहै छ, लठ्ठू भएर हिंड्ने, गाँजा खाने, के के गर्ने, त्यो सबैलाई थाहा छ,’ उनले संसदमा भने, ‘तर उनकी श्रीमती हिमानीको कुरा गरौं– उनले कस्तो संस्कार पाएकी छिन्, श्रीमान जस्तो भए पनि भारतीय नारीले सिन्दूरको कदर कसरी गर्छन्, कसैले सिक्न चाहन्छ भने हिमानीसँग सिकोस् ।’

यादवले हिमानीले नेपालमा कुन ठाउँमा राष्ट्रघात गरेकी छन् भनेर प्रश्न गरे । नेपालमा नेपालीसँग बिहे गर्ने भारतीय नारीलाई अनावश्यक शंका गरेर विभेदपूर्ण नागरिक ऐन बनाएको उनले बताए । यस्तो प्रावधान पास नगर्न उनले आग्रह गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७