ओली र प्रचण्ड–नेपाल पक्षको आज छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक, एक–अर्कालाई कारबाही गर्ने तयारी
काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले आज (मंगलबार) छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ माधवकुमार नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्न लागिएको हो । दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाइसकेका छन् । प्रधानमन्त्री ओली पक्षको बैठक बिहान ९ बजे र कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
काठमाडौंको एक ब्याङ्क्वेटमा दिउँसो १ बजेका लागि बोलाइएको प्रचण्ड–नेपाल पक्षको बैठकले केपी ओलीलाई अनुशासनको कारबाही गर्ने नेताहरुले बताएका छन् । उनीहरुले ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेका हुन् ।
ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधि सभाको विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको आरोप लगाएका छन् । सोही बैठकबाट माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी पनि रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
‘केन्द्रीय कमिटी बैठकअघि बस्ने स्थायी कमिटी बैठकले ओलीमाथि कारवाहीको प्रस्ताव तयार पार्छ र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ’ एक स्थायी कमिटी सदस्यले भने, ‘त्यही बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको छ । पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था रहेकोले रिक्त हुने स्थान नेपालले लिनुहुन्छ ।’
प्रचण्ड–नेपाल पक्षले संवैधानिक र कानुनी दृष्टिले प्रतिनिधिसभा विघटन नभएको तर्क गर्दै पुनस्र्थापनाको मागसहित प्रस्ताव पास गर्ने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग मिलेर संयुक्त आन्दोलनमा जाने निर्णय गर्ने समेतको तयारी गरेको छ । यसअघिको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
यता बहुमतले कारबाही गरे एकता भङ्गका लागि निर्वाचन आयोगमा पत्राचार गर्ने ओली समूहले तयारी गरेको छ । बैठकमा सहभागी हुन भन्दै उपत्यका बाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाडौं आइपुगेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाका नेताहरु औपचारिक रुपमै विभाजित भएका छन् । आजको दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानबिन्दु हुने विश्लेषण गरिएको छ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि ओली–प्रचण्ड समूह एकै ठाउँमा बस्न समेत सकिरहेका छैनन् । दुवै समूहले हिजो आ–आफ्नो पक्षका संघीय सांसदहरुको भेला समेत गरेका थिए ।