६ महिनापछि रसुवा नाका एकतर्फी सञ्चालन
काठमाडौं, २२ असार । बन्द भएको ६ महिनापछि रसुवागढी नाका एकतर्फी खुलेको छ । कारोना भाइरसका कारण बन्द रहेको चीनतर्फको व्यावसायिक नाका रसुवा–केरुङ सोमबारदेखि सञ्चालनमा आएको हो ।
यतिखेर केरुङबाट चार कन्टेनर सामान नेपाल–चीन सीमामा आइपुगेको जनाइएको छ । जसमा रेडिमेड सामान, लत्ताकपडा तथा जुत्ता चप्पल रहेको रसुवा भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिएका छन् ।
त्यो सामान १२ ट्रक हुने अनुमान छ । तर, आयतन ठूलो र तौल कम हुने भएकाले १२ ट्रकभन्दा कम वा बढी पनि हुन सक्ने बताइएको छ । चीन र नेपालबीच एउटा पुल छ । पुलनजिकै एउटा खाली ठाउँमा चीनबाट आएका कन्टेनरले सामान छाड्छन् र नेपालले आफूतर्फको गेट खोलेर सामान ट्रकमा लोड गरेर नेपाल भित्र्याउँछन् ।
माघ १५ देखि बन्द रहेको नाका खुलेको हो । उनले भने, ‘कन्टेनरमा बिग्रिने सामान खासै छैनन् । लकडाउनको अवधिमा केही सामान आएका थिए । जसमध्ये केही बिग्रेको जानकारी प्राप्त भएको थियो भने केही तातोपानी नाका हुँदै नेपाल भित्रिएका थिए ।’
उनले केरुङबाट रसुवा हुँदै आउने सामानमा केही विद्युतीय सामान पनि रहेको जानकारी आएको बताए । त्यो चिसोका कारण खराब हुन सक्छन् व्यवसायीको आशंका छ । नाका खुलेपछि केरुङदेखि बाटामा अलपत्र सबै सामान अब विस्तारै नेपाल भित्रिने छन् ।
यसअघि नाका बन्द भएपछि अर्बौं रुपैयाँ बराबरको सामान चीनमै रोकिएका थिए । चिनियाँ ढुवानीकर्तामार्फत् नेपाल ल्याउन खरिद गरिएको १५ सय ट्रक सामान रसुवा नजिक केरुङ नाकाको गोदाममा अड्किएका हुन् ।
सो सामान करिब १० अर्ब रुपैयाँ बराबरको रहेको बताइएको छ । रोकिएका समानमा चीनका विभिन्न शहरबाट खरिद गरिएका हाइड्रो कम्पनीका मेसिन, उद्योग सञ्चालनमा आवश्यक कच्चा पदार्थ, तयारी लत्ता–कपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक, निर्माणलगायत छन् । ती सामान रसुवा भन्सार नजिकको चिनियाँ नाकास्थित केरुङ गोदाममा थन्किएका हुन् ।
.gif)

.png)

