गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने
काठमाडौं, ९ बैसाख । गोरखा घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिएकी छन् ।
थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहेकी उनको यो दोस्रो गर्भ हो । अहिले छ महिना भइसकेको छ र कुनै समस्या नभएकाले फोनमा चिकित्सकले दिएको सल्लाहअनुसार नै खाना खाने र व्यायाम गर्दै आएकी छिन् ।
यस्तै नुवाकोट घर भई काठमाडाैंमा बस्दै आएकी कला तामाङको पनि दोस्रो गर्भ पाँच महिनाको छ । उनले समस्या भएमा कहाँ र कसरी सेवा लिनेबारे जानकारी राखेको पाइएन । प्रसूति गृहले बन्दाबन्दी (लकडाउन)का कारण अस्पतालसम्म आउन नसक्नेलाई घरमै बसेर सेवा उपलब्ध गराउन थालेपछि थापाजस्ता धेरैले यसको फाइदा लिइरहेका छन् ।
अस्पतालका निर्देशक डा. जगेश्वर गौतमका अनुसार कोरोना सङ्क्रमण नहोस् भन्ने उद्देश्यले अस्पतालको बहिरङ्ग सेवा बन्दाबन्दीको अवधिभर बन्द गरिएको छ ।
यसबेला अस्पतालमा गर्भवती अवस्थाबारे जाँच गराइरहेका गर्भवतीका लागि टेलिफोन नं. ४२६०४०५ मा सम्पर्क गरी डाक्टरसँग सल्लाह लिन सकिने छ । गोरखापत्र दैनिकबाट