चन्द जिल्ला इन्चार्ज पौडेललाई पक्रेर मारिएको परिवारको दाबी


२०७६ असार ७ शनिबार २०:४२ बजे

सर्लाही, ७ असार । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको भिडन्तमा बिहीबार मारिएको नभई हत्या भएको दाबी आफन्तले गरेका छन् ।

लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरेको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

४७ वर्षीय छोरा गुमाएका वाग्मती नगरपालिका–२ धरहराका ७२ वर्षीय खिलकराज पौडेल गहिरो शोकमा छन् । ‘मुलुकमा गणतन्त्र आएको छ कि छैन ? मेरो छोरालाई प्रहरीले समातेर गोली हानेको छ,’ उनले भने, ‘गोली हानेर मारेपछि पनि लास हेर्न दिएको छैन ।’ गणतन्त्रमा सबै विचारका पक्षधरले आफ्ना कुरा राख्न पाउनुपर्ने अधिकार रहेको उनले बताए ।

‘राज्यका लागि केही गलतै गरेछ भने प्रहरीले पक्राउ गरेर कानुनी कारबाही चलाउनुको साटो समातेर गोली हानेर मार्न पाइँदैन,’ उनले भने, ‘निर्दोष र निःशस्त्र मान्छे मार्ने सरकार कसरी गणतन्त्रको पहरेदार हुन सक्छ ? मुलुकमा अहिले गणतन्त्र हैन लुटतन्त्र छ, यसको विरुद्धमा आवाज उठाउँदा छोरालाई नेकपाको केही नेताको उक्साहटमा मार्न लगाइएको छ ।’

कुमारका भाइ हरिकृष्ण पौडेलले घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन् । निष्पक्ष छानबिनको ग्यारेन्टी नभएसम्म शव नबुझ्ने उनले बताए । ‘निःशस्त्र व्यक्तिलाई हातमा पेस्तोल थमाइएको छ । प्रहरीले दोहोरो भिडन्तको नाममा दाजुलाई हत्या गरेको छ,’ उनले भने, ‘घटनाको निष्पक्ष छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर आउनु पर्छ ।’

पौडेलको घरमा शुक्रबार बिहानैदेखि आफन्त र स्थानीयको भीड लागेको छ । राज्यप्रति आक्रोशित देखिएका उपस्थित सबैले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । प्रहरी कारबाहीमा कुमारको मृत्यु भएको भन्ने खबर सुनेयता पौडेल परिवार शोकमग्न छ । पिता खिलकराज, आमा दुर्गादेवी, पत्नी कला एवं छोराछोरी कुशल र कामना एवं भाइ हरिकृष्ण शोकमा डुबेका छन् । कला पटक पटक मूर्चछित हुँदै होसमा फिर्दै गरिरहेको स्थानीय शीतल बोहराले बताए ।

गस्तीमा जाँदै गरेको टोलीमाथि दुई वटा मोटरसाइकलमा रहेका चार जनाको समूहले गोली चलाएपछि प्रहरीको जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको भनाइ जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीतसिंह राठौरको छ । पौडेलको मृत्यु हुनुअघि प्रहरी र चन्द समूहका कार्यकर्ताबीच दोहोरो हानाहान भएको र त्यसक्रममा तीन जना भाग्न सफल भएको दाबी प्रहरीको छ ।

घटनास्थलबाट विस्फोटक पदार्थसहित एक–एक वटा पेस्तोल र कटुवा, त्यसमा प्रयोग हुने गोलीसँगै नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको २ सयवटा परिचय पत्र, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल र अर्को अनटेस्ट एफजेड मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ ।

पौडेलविरुद्ध संगठित अपराध मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रका व्यापारी, व्यवसायी र सर्वसाधारणसँग जबरजस्ती चन्दा माग्ने र नदिए मार्ने धम्की दिंदै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले दोहोरो भिडन्तका क्रममा जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको भने पनि घटना भएकै हो भन्ने आधार शंकास्पद देखिएको छ । दोहोरो भिडन्त भनिए पनि घटनाका बेला खटिएका भनिएको टोलीका प्रहरीलाई कतै पनि चोट लागेको छैन ।

मृतक पौडेलको हात र कञ्चटमा एक–एक गोली लागेको छ । पूर्वपश्चिम राजमार्गको नवलपुर चोकबाट झण्डै ३ किलोमिटर उत्तरमा रहेको घटनास्थल भनिएको ठाउँमा बाख्रा चराइरहेका स्थानीय महिलाहरूले त्यस दिन गोली चलेको आवाज नसुनेको बताएका छन् । ‘दोहोरो भिडन्त भए त बररर गोली चलेको आवाज सुन्नुपर्ने हो । त्यस्तो कुनै आवाज सुनिएन,’ एक महिलाले भनिन् ।

पौडेलको शव शुक्रबार पनि मलंगवास्थित जिल्ला अस्पतालमै छ । पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका परिवारका सदस्य सम्पर्कमा नआएको बताइरहँदा आफन्तले अस्पताल जाँदा प्रहरीले लास हेर्नसम्म नदिएको र कुनै खबर समेत नगरेको दाबी गरेका छन् ।

यता चन्द समूहले आफ्ना निःशस्त्र कार्यकर्तालाई काल्पनिक भिडन्तको नाममा गैरन्यायिक हत्या गरिएको दाबी गरेको छ । घटनाबारे निष्पक्ष छानबिन गर्न र त्यसका लागि सहयोग गर्न सरोकारवालासँग अनुरोध समेत गरेको छ । कान्तिपुर दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७