‘अब बृद्ध भत्ता प्रतिव्यक्ति मासिक पाँच हजार’

भीमदत्तनगर, १५ वैशाख । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् ।
आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नव निर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक पाँच हजार पुर्याइने जानकारी दिएका छन् ।

‘ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा समेत गरिएको छ’, उनले भने, ‘सामाजिक सुरक्षाभत्ता सरकारले घटाउँदै छ भनेर गलत प्रचारबाजी गरिएको छ ।’ उनले वर्तमान सरकार कानून र विशेष नीति निर्माणमा लागेको बताउँदै चालु वर्षमा समृद्धिको तस्बीर खडा गर्न सरकार लागि परेको धारणा राखे ।
‘हिजोका दिनमा सरकार मात्रै फेरिन्थ्यो’, मन्त्री पोखरेलले थपे, ‘अहिले प्रणाली फेरिएको छ ।’ उनले कृषि, जलस्रोत, उद्योग स्थापना र पर्यटनको विकास नै समृद्धिको मुख्य आधार भएको बताए । ‘जनप्रतिनिधिले जनताको मन बुझेर काम गर्नुपर्छ’, उनले भने, ‘जनताको निगरानीमा रहेर काम गर्नुपर्ने बेला आएको छ ।’ कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र र दैजी–जोगबुढा सडक निर्माणका विषयमा आफूले पहल गर्ने उनले वचन समेत दिएका छन् ।
भू–उपयोग नीति बदल्न आवश्यक रहेको बताउँदै उनले अधिकार स्थानीय तहसम्म आइसकेकाले हरेक विषयमा केन्द्रसँग मुख ताक्नुभन्दा पनि अहिले पाएको अधिकार बमोजिम काम गर्न जोड दिएका छन् ।
नगरसभासँगै मन्त्री पोखरेलले नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । सोही कार्यक्रममा कञ्चनपुरका स्व पत्रकार कर्ण बोहराको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट यहाँस्थित अपि टुडे दैनिकका सम्पादक सुरेश धामीलाई सम्मान गरिएको छ ।