गृहमन्त्रीको प्रश्न : ‘प्रदेश–२ लाई आफै सिडिओ राख्न संविधानले कहाँनेर अधिकार दिएको छ ?’
जनकपुर, वैसाख १४ । गृहमन्त्री रामबहादुर थापाले प्रदेशलाई आफै प्रमुख जिल्ला अधिकारी) सिडिओ नियुक्ति गर्ने अधिकार अहिलेको संविधानले नदिएको बताएका छन् ।
उनले प्रदेश सरकारले सिडिओ राख्न नपाउने स्पष्ट पारे । शनिबार जनकपुरमा आयोजित प्रदेश सुरक्षा गोष्ठीमा उनले सिडिओ संघको प्रतिनिधि हुने बताउँदै संविधानमा दोहोरो सिडिओको प्रावधान नरहेको बताए ।
गृहमन्त्री थापाले प्रदेशसँग शान्ति सुरक्षाकाे लागि प्रदेश प्रहरी परिचालन गर्ने अधिकार रहेको बताए । ‘प्रमुख जिल्ला अधिकारी संघीय सरकारको मातहतमा रहेर समन्वय गर्ने हो’, उनले भने,’ प्रदेशले प्रमुख जिल्ला अधिकारी राख्ने व्यवस्था संविधानमा छैन । प्रदेश–२ ले कसरी राख्ने हो मलाई थाहा भएन ।’
सर्वोच्च अदालतले २०५४ सालमा नागरिकता पाएकाहरुको हकमा गरेको फैसला बमोजिम गृह मन्त्रालयले अदालतको आदेश अनुसार नै काम गर्ने उनले बताए ।
प्रदेशको सुरक्षा गोष्ठीले देशको सुरक्षा व्यवस्था सुदृढ गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले एक वर्षमा मुलुकमा सुशासन र शान्ति सुरक्षालाई सुदृढ गर्ने सन्दर्भमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
‘देशको अखण्डता र शान्ति सुरक्षामा पनि महत्वर्णपूर्ण उपलब्धि हासिल भएको छ’, मन्त्री थापाले भने, ‘छुट्टै मधेसको नारा लगाउने सीके राउतले संविधान स्वीकारेको छ । स्वतन्त्र मधेसको नारा दिनेले पनि देशको राष्ट्रिय अखण्डतालाई सुदृढ गर्न प्रतिबद्धता जाहेर गरेको छ । यो पनि सफलता नै हो ।’